गैंडा बोकेर चीन जाँदै प्रधानमन्त्री ओली
काठमाडौं, १६ वैशाख । सन् १९८५ मा भारतलाई दुई भाले र दुई पोथी गैंडा उपहार दिएपछि नेपालमा मात्र पाइने एक सिंगे गैंडाले विदेशी माटो टेक्न थाले । नेपालमा मात्र पाइने यो गैंडा अब विश्वका धेरै देशमा पर्यटकहरूले देख्न थालेका छन् । नेपाल सरकारसँग भाले र पोथी नै उपहारमा लगेर त्यसको संख्या बढाउने कुटनीतिक अभ्यास थालेको ३३ वर्ष पुगेको छ ।
अहिले चीन सरकार नेपालले दिएको चार गैंडा लिन आतुर छ । सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको अबको चीन भ्रमणमा जिउँदो गैंडा सी जिन पिङले उपहार पाउँदैछन् । नेपालका लागि चिनियाँ राजदूतलगायतका कुटनीतिक टोलीले नेपाली गैंडा हेरिसकेका छन् । चितवनमा शनिबार मात्रै चीनलाई दिने भनेर एउटा केटो समातिएको छ ।
उच्च स्रोतका अनुसार चीनसँगको सम्बन्धको उचाई देखाउनका लागि अघिल्लो पटक प्रधानमन्त्री हुँदा उपहार दिएका ओलीले यस पटक जिउँदो गैंडा लिएर जाने तयारी गरेका छन् । ओली आफैंले सीलाई गैंडा हस्तान्तरण गर्नसक्ने कुटनीतिक अधिकारीहरूको अनुमान छ ।
भारत, पाकिस्तान र म्यानमारका केही ठाउँमा पनि देखिन थालेको यो गैंडा नेपालमा मात्रै पाइनेमा दरिएको छ । यसरी नेपाली गैंडा उपहार दिने चलन तत्कालिन युवराज पारस शाहले बेलायतको संस्थालाई पठाउने तयारी हुँदा अधिकारकर्मीको विरोधमा रोकिएको थियो ।
सरकारले सरकारलाई मात्र दिन पाउने निर्णय र सहमतिका आधारमा रोकिएको थियो । ओली सरकारले यी गैंडा चीन सरकारलाई नै दिँदैछ ।
चीनलाई चारवटा गैंडा दिएमा अहिलेसम्म २८ गैंडा उपहारका रूपमा बिदेशिनेछन् । सन् १९८७ मा अमेरिकालाई ६, सन् १९९० मा जर्मनीको चिडियाखानाका लागि एउटा भाले र सन् १९९३ मा एउटा पोथी गरी दुई गैंडा पठाइएको थियो । सन् १९९० मै सिंगापुर सरकारलाई एक जोडी वयस्क गैंडा उपहार पठाइएको थियो भने बेलायतलाई भने सन् १९९८ मा एक जोडी गैंडा उपहार दिइएको थियो ।
सन् १९९३ मा बंगलादेशलाई एक जोडी, सन् २००२ मा जापानलाई एक जोडी र अस्ट्रियालाई अर्को एक जोडी गैंडा सरकारले उपहारस्वरूप पठाएको थियो । यसैगरी, पाकिस्तानलाई २, बर्मालाई २ र थाइल्यान्डलाई दुई गैंडा पठाइसकिएको छ ।
२६ असार २०७३ मा ओलील चीनको माग अनुसार निर्णय गरेका थिए । त्यसबेला भारतसँग सम्बन्ध सुमधुर थिएन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २४ गैंडा उपहार आदानप्रदानका नाममा दिइएको छ ।
नेपालले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो । तत्कालीन युवराज पारस शाहले २०५९/६० मा उपहारका नाममा गैंडा पठाउने तयारी भएपछि नागरिक दबाबका कारण सरकारलाई मात्र गैंडा पठाउने जनाइएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ५ औं संशोधनमा गैंडा दुर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ । पछिल्लो गणनाअनुसार नेपालमा ६४८ गैंडा छन् । तीमध्ये चितवनमा ६०५, बर्दियामा ३५ र शुक्लाफाँटा निकुञ्जमा आठ छन् । अन्य विभिन्न मुलुकमा गरी यो गैंडको संख्या २५ सय भन्दा बढि नरहेको बताइन्छ ।
यसैबीच, ओलीको चीन भ्रमणको तयारी तिव्र भइरहेको छ । उनको भ्रमण अघि चितवनमा गैंडा समात्ने कामलाई तिव्रता दिइएको छ । निकुञ्जसँग रहेको एउटासहित शनिबार दुई भाले गैंडा तयार भइसकेका छन् । निकुञ्ज अधिकारीका अनुसार अब दुई पोथी गैंडा समातेर चीन पठाइनेछ ।

Comments
Post a Comment